४ असार, ओखलढुंगा । सदरमुकाम नजिकको बेतनी गाविस १ की ६५ बर्षीया इन्द्रकुमारी धमलाले आफूलाई जबर्जस्ती पत्नी बनाउन खोजेको भन्दै आइतबार महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । उनले उजुरीमा छिमेकी गाविस सल्लेरी ३ का एक ७५ बर्षीय वृद्धले जबर्जस्ती पत्नी बनाउन खोजेको जनाएकी छिन् ।
आफूलाई बैठक भएको भन्दै बोलाएर सल्लेरी ३ का बृहस्पति बास्तोलाले जबर्जस्ती पत्नी बनाउन खोजेको धमलाको दाबी छ । उनले सल्लेरी ३ का स्थानीय पृथीबहादुर तामाङको घरमा गुठीको बैठक भएको भन्दै आफूलाई बोलाई जबर्जस्ती पतिपत्नीको नाता कायम गरिदिन खोजेको आरोप लगाएकी छिन् ।
कार्यालयमा उजुरी दर्ता भएपछि आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको महिला विकास अधिकृत सत्यदेवी अधिकारीले जानकारी दिइन् । केही बर्षअघि धमलाको श्रीमान्को मृत्यु भएको थियो ।
- नयाँ पत्रिका