काठमाडौ, असार ७ -
'एक्काइसौं शताब्दीमा कलाको कुनै पनि विधा एक्लो र भिन्न छैन,' साहित्यकारसमेत रहेका रंगकर्मी अशेष मल्ल यसो भन्छन्, 'साहित्य होस् या नाट्य रंगमञ्च, ललितकला होस् या नृत्य संगीत, सबै विधाको आपसमा अभिन्न सम्बन्ध छ ।'
सर्वनाम रंगभवन निर्माण हुनुअघि र भइरहेका बेला पनि उनी कलाका सबै विधालाई एकै थलोमा ल्याउन पाए हुन्थ्यो भन्ने सोचिरहन्थे । भवन बनिसकेर नियमित नाट्य मञ्चन, साहित्य विमर्श र फिल्म प्रदर्शन भइरहेकै बेला सर्वनामले ग्यालरी पनि थालेको छ । नेपाली कला इतिहास चर्चित 'स्किभ' समूहको कला प्रदर्शनीबाट सुरु भएको ग्यालरीमा युवा चित्रकार महेश बस्ताकोटीको एकल प्रदर्शनी थालिएको छ ।
ललितकला क्याम्पसका चित्रकला विधातर्फका तीन मेधावी विद्यार्थी महेशसँगै रीति महर्जन र विनीता बुद्धाचार्यलाई सर्वनाम कला प्रोत्साहन पुरस्कारद्वारा सम्मानित गर्दै सुरु भएको प्रदर्शनीको नाम दिइएको छ- समय ।
महेशले आफ्नै आँखाबाट देखे भोगेको समसामयिक नेपाली समाज र राजनीतिका समस्यालाई जीवनसँग जोडिएर अभिव्यक्ति गरेका छन् । एक्रेलिक माध्यमका उनका अधिकांश चित्र फिगरेटिभ छन् । रोचक के भने उनले क्यानभासमा आफूलाई भावको रूपमा मात्रै हैन, शारीरिक रूपमै व्यक्त गरेका छन् । हरेक चित्रमा उनले आफ्नै अनुहारका फिगर कोरेका छन् । मुलुकको विकृत राजनीतिक अभ्यासका कारण सृजित आर्थिक-सामाजिक समस्याबाट पिल्सिएको नयाँ पुस्ताको कथा उनको चित्रमा पाइन्छ । रंग संयोजन भलाद्मी लाग्छ ।
हिउँदको कुनै एक दिन उनी परीक्षाको तयारी गर्दै थिए । अचानक बत्ती गयो । उनले बल्बलाई हेरे । केही समयपछि बत्ती आयो, फेरि उनले बल्बलाई हेरे । हरेकपटक हेर्दा खासमा उनले बल्बमा आफ्नै आकृति उल्टो झुन्डिएको देख्थे । यसपछि उनले यो अनुभूतिलाई क्यानभासमा उतारे, जहाँ उल्टो झुन्डिएको आकृति छ । 'लोडसेडिङले हामीलाई यसरी नै आसैआसमा झुन्ड्याई त रहेको छ नि,' ग्यालरीमा चित्र हेर्न आएका पारखीलाई उनी बुधबार दिउँसो उनी भनिरहेका थिए, 'जसरी नेताले नागरिकलाई आशैआशमा झुन्ड्याउँदै लगेका छन् ।'
सडक विस्तार गर्दा मार्कामा पर्ने साधारण नागरिकदेखि, सडकलाई नै आक्रोश र आन्दोलनको माध्यम बनाउँदै बन्द गर्ने प्रवृत्तिसम्मलाई उनले क्यानभासमा कैद गरेका छन् । सडकमा ढलेको नागरिकको टाउकोमा रातो बुटले कुल्चेको चित्रसँग जोडिएर गरेको उनको प्रतिपस्थापन कला निकै अर्थपूर्ण लाग्छ । क्यानभाससँगै जोडिएर उनले बाहिरबाट थुप्रै राता खुट्टा राखेका छन्, जुन खुट्टाको लस्कर एउटा कुर्सी पुगेर टुंगिन्छ । अठारौं शताब्दीमा 'संसारका मजदुरहरू एक होऔं' भन्दै भोकाहरूका निम्ति कार्लमाक्र्सले प्रतिपादन गरेको माक्र्सवादलाई आजको सन्दर्भमा कसरी सत्ता पुग्ने भर्याङको रूपमा मात्रै प्रयोग भइरहेको छ भन्ने गहन विषयलाई उनले यो चित्रमार्फत बहस ल्याएका छन् ।
'मुलुकमा अहिले जे भइरहेको छ, त्यसैलाई व्यक्त गरेको हुँ,' ललितकला क्याम्पसबाट कलामा स्नातक २९ वर्षेले दोस्रो एकल प्रदर्शनीबारे भने, 'त्यही भएर प्रदर्शनीको नामै समय राखें । यो हामी तन्नेरीहरूले भोगिरहेको समयको कथा हो ।'
प्रदर्शनी दुई साता चल्नेछ ।