त्रिभुवन पौडेल
नेपालको नेप्लिज काउन्सिलले गएको शुक्रबार सिंगापुरमा दक्षिण-पूर्व एसिया बिजनेस एक्सिलेन्स एवार्ड हात पारेको छ। दक्षिण-पूर्वी एसिया क्षेत्रका अर्बपति युवा व्यवसायी, प्रसिद्ध कलाकार एवं विभिन्न देशका सुन्दरीहरूको सहभागिता रहेको कार्यक्रममा नेपालका तर्फबाट उक्त एवार्ड मलेसिया/सिंगापुरमा लामो समयदेखि व्यवसाय गर्दै आएका हरि भट्टराईले ग्रहण गरेका थिए।
दक्षिणपूर्व एसियामा नेपाल नपरे पनि नेप्लिज काउन्सिलले गरेको उल्लेखनीय कामको योगदान गर्दै उक्त विधामा मनोनयन गरिएको आयोजक दक्षिण-पूर्वी एक्सिलेन्स एलाइन्सका अध्यक्ष अनुराल कोसाकुलले जानकारी दिए।
विभिन्न देशका करिब ७५ प्रतिस्पर्धी रहेको कार्यक्रममा एवार्ड पाउने सात मुलुकमध्ये नेपाल एक हो। विशिष्ट मानिने उक्त कार्यक्रममा १ सय १७ जना छानिएका अतिथि निम्त्याइएका थिए। त्यसमा पनि सात जना भिआइपी अतिथिको सूचीमा नेपालका प्रतिनिधि भट्टराई परेका थिए।
नेप्लिज काउन्सिलले नेपालमा रहेर पनि सौन्दर्य प्रतियोगितासहित इभेन्ट म्यानेजमेन्टमा पुर्याएको योगदानको कदर गर्दै उक्त एवार्ड प्रदान गरिएको अनुरालले बताए। सोही समारोहमा मिस जापान-२००६ नाबु वानिकोलाई लेडी एक्सिलेन्स एवार्डबाट सम्मान गरिएको थियो। विख्यात फोटोग्राफर चार्ली लिमको उपस्थितिमा सम्पन्न उक्त समारोहमा वाषिर्क १० अर्ब बराबरको कारोबार गर्ने ३० वर्ष मुनिका १० जना युवा व्यवसायीलाई पनि सम्मान गरिएको थियो।