गर्मीको मौसममा स्वीमिङ पुलको अभाव भएपछि इटहरी र खनारको सिमानामा ओसियन पार्क निर्माण भएको छ। पार्कभित्र सुविधायुक्त स्वीमिङपुल, रेनी डान्स, प्ले प्यान, वेभ पुल, फेमिली स्लाइड, किड स्लाइड तथा बडी स्लाइडको व्यवस्था छ। सुविधायुक्त स्वीमिङ पुलको यस्तो पार्क पूर्वाञ्चलमै पहिलो पटक सञ्चालनमा आएको पार्क सञ्चालक समितिका अध्यक्ष डम्बर तामाङले बताए।
५ सयभन्दा बढीले एकै पटक रमाइलो गर्न सक्ने रिसोर्ट उद्घाटनअघि नै स्वीमिङपुलमा मानिसहरूको आकर्षण देखिन्छ। निकट भविष्यमा स्वस्थ परिकारसहितको रेस्टुराँसमेत निर्माण गरिने तामाङले बताए। ११ करोडको लगानीमा निर्मित पार्कमा अन्तर्राष्ट्रिय स्तरको स्वीमिङ पुलका साथै आकर्षक पानीको फोहरा तथा समुद्रको जस्तै कृत्रिम तटसमेत तयार गरिने बताइएको छ।