खुसी खोज्दै जापानी युवती नेपालमा

काठमाडौं : महिला अधिकारको वकालत गर्दै विश्व भ्रमणमा निस्केकी जापानी युवती मोमोको फुकुहारा नेपाल आइपुगेकी छिन् । “विश्वका महिलाहरुको खुसीको खोजी” भन्ने नाराका साथ विश्व यात्रामा निस्केकी फुकुहारा दुई साताअघि काठमाडौं आइपुगेकी हुन् ।

काठमाडौं बसाईका क्रममा उनले शक्ति समूह नेपाल नामक गैरसरकारी संस्थामा दुई दिन स्वयंसेवकका रुपमा काम गरी त्यहाँ आश्रित नेपाली महिलाका बारेमा जानकारी लिइन् । यसैगरी, भक्तपुरको नवयुवा बाल सुधार समाजलगायत विभिन्न अनाथ आश्रममा पुगी उनले द्वन्द्वका कारण आमाबाबु गुमाएका अनाथ तथा असहाय बालबालिकाका बारेमा जानकारी लिइन् ।

फुकुहाराले भ्रमणका क्रममा नेपाली महिलाले परिवार र समाजमा सबैभन्दा बढी सम्मान पाउने गरेको आफूले अनुभूति गरेको पनि बताइन् । पौराणिक कालदेखि नै महिलालाई विभिन्न देवीदेवताका नाममा पुज्ने गरिएको र अहिले पनि महिलालाई कठिन काममा नलगाउनु सम्मानको प्रमाण भएको उनको भनाइ छ ।


नेपाली महिलाहरु भावनात्मक रुपमा निकै कमजोर भएको फुकुहाराको अनुभव छ । अशिक्षा, धार्मिक रुढीबाजी र आत्मबलको कमीका कारण पनि महिलाहरुमा भावनात्मक कमजोरी देखिएको भन्दै उनले त्यसै कारण विभिन्न हिंसा र  महिला बेचबिखन भइरहेको बताइन् । आफूले भ्रमण गरेका ७ वटा मुलुकको तुलनामा नेपालमा महिला हिंसा अत्याधिक पाएको फुकुहाराको भनाइ छ ।


२५ वर्षीय फुकुहाराको नेपाल भ्रमण सातौं राष्ट्र हो । मे १५ का दिन फिलिपिन्सबाट यात्रा सुरु गरेकी उनले कम्बोडिया, थाइल्याण्ड, भेतनाम, लाओस र भारतको भ्रमण गरिसकेकी छिन् । उनी नेपालबाट भारत हुँदै युरोपेली राष्ट्र पुग्ने योजना रहेको बताइन् ।






radio radio radio
radio radio radio